Header Ads

आगामी असोज १ मा 'वडा नं ६'

हास्य कलाकारहरुले निर्माण गरेको फिल्म 'वडा नं ६' आगामी असोज १ मा रिलिज हुने भएको छ। फिल्म युनिटले शुक्रबार गीत देखाउँदै रिलिज मिति सार्वजनिक गरेको हो। '६ एकान ६'को सफलतापछि हास्य कलाकारको टोलीले 'वडा नम्बर ६' निर्माण गरेको हो।



निर्मल शर्मा, दीपकराज गिरी, दीपा श्री निरौलासँगै यसपटक जितु नेपाल, केदार घिमिरे र कुञ्जना घिमिरे पनि निर्माणमा उत्रिएका छन्। कार्यक्रममा जितु र केदारले फिल्म राम्रो बनेको दाबी गरे।

फिल्म राम्रो बनेको दाबी अभिनेत्री प्रियंका कार्कीले पनि गरिन्। '६ एकान ६'मा पनि अभिनयका लागि आएको प्रस्ताव व्यस्तताका कारण स्विकार्न नसकेको बताउँदै उनले फिल्मले निराश नबानाउने विश्वास दिलाइन्। 'यो फिल्मको सेटमा जति म कहिलै हाँसिनँ। त्यसैले फिल्ममा मनोरञ्जनको ग्यारेन्टी छ। हलबाट निस्कँदा तपाईं निराश भएर निस्कनु हुन्न,' प्रियंकाले भनिन्।

प्रियंकाकै भनाइमा सही थाप्दै अभिनेता तथा निर्माता दीपकराजले पनि पहिलो फिल्मको तुलनामा फिल्म थप मनोरञ्जक र सन्देशमूलक रहेको बताए।

'पहिलो फिल्ममा मनोरञ्जनले मात्र स्थान पाएको थियो। यसपालि मनोरञ्जनसँगै सामाजिक सन्देशलाई पनि स्थान दिएका छौं। प्रियंकाले भनेझैं फिल्मले दर्शकलाई निराश बनाउँदैन,' दीपकले भने।

'वडा नं ६'मा काम गर्न पाउँदा आफूलाई खुशी लागेको अभिनेता दयाहाङ राईले बताए। उनले भने, 'मैले पर्दामा सबैभन्दा धेरै हेरेका कलाकारहरुसँग काम गर्न पाउँदा एकदमै खुसी लागेको छ। एउटा राम्रो फिल्म बनाउने प्रयास गरेका छौं।'

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्ममा दयाहाङ, प्रियंका, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, विल्सनविक्रम राई, राजाराम पौडेल आदिको अभिनय रहेको छ।

फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। फिल्ममा राजनराज सिवाकोटी र सुगम पोखरेलको संगीत रहेको छ। कार्यक्रममा सुगम र प्रीति कौरको स्वर रहेको 'वाहियात लभस्टोरी' गीतको भिडियो देखाइएको थियो।

'६ एकान ६' निर्देशक दिनेश डिसी सो फिल्मको प्रचारप्रसारमा देखिएका थिएनन्। सुरुमा निर्माण समूहले बेग्लाबेग्लै प्रचारप्रसारमा हिँड्ने सहमति अनुरुप निर्देशक कार्यक्रममा नहिडेको दाबी गरेको थियो तर पछि निर्माण समूहसँग दिनेश डिसीको सम्बन्ध बिग्रिएको प्रमाणित भएको थियो।

'वडा नं ६'को पहिलो औपचारिक कार्यक्रममा पनि निर्देशक उज्ज्वल घिमिरे उपस्थित थिएनन्। मनमुटावको हल्ला चल्ने डरले दीपकले पत्रकारले जिज्ञासा राख्नु अघि नै निर्देशक व्यक्तिगत कामले पोखरा गएको स्पष्टीकरण दिए।

'हाम्रो फिल्मका निर्देशकहरु प्रचारप्रसारभन्दा काममा विश्वास गर्नुहुन्छ। त्यसैले अघिल्लो फिल्मको निर्देशक झैं यो फिल्मको निर्देशक पनि कार्यक्रममा आउनु भएन। तर हामीबीच सम्बन्ध राम्रो छ,' दीपकले भने।

रिलिजपूर्व नै फिल्म वितरण कम्पनी एफडीले 'मिनिमम ग्यारेन्टी'मा किनिसकेको कार्यक्रममा जानकारी गराइएको थियो। फिल्मलाई दीपक बज्राचार्य र मनकृष्ण श्रेष्ठले खिचेका हुन् भने सार्वजनिक गरिएको गीतमा गौतमराज खड्काको सम्पादन र गम्भिर विष्टको कोरियोग्राफी रहेको छ।
Nagariknews

No comments

Powered by Blogger.