Header Ads

सन्तुलित खाना, सुन्दर कपाल

कपाल बलियो र चम्किलो पार्ने नाममा हामीले बजारमा भएका धेरै प्रसाधान किनिसक्यौं। तैपनि समस्या जस्ताको तस्तै। न कपाल झर्न रोकिन्छ, न चम्किलो हुन्छ। पार्लर धाएर अनेक किसिमका टि्रटमेन्ट गरे पनि दुईचारभन्दा बढी टिक्दैन।
कपालको सौन्दर्यका लागि विज्ञापनको पछि लाग्नु समाधान होइन। समाधान हो, खानामा ध्यान दिनु। पोषिला खानेकुराले सौन्दर्य समस्या ६० प्रतिशत घट्छ।
कपाल झर्ने, हाँगा फाट्ने, चाँया पलाउनेजस्ता समस्याबाट बच्न सन्तुलित आहार नभई हुन्न। पछिल्लो समय जिरो साइज फिगर बनाउन डाइटिङ गर्नेहरूमा कपालको समस्या बढी पाइएको छ। यसलाई जरैदेखि मजबुत र सुन्दर बनाउन हामीले डाइटिसियन रेनु शाहको सल्लाहमा आहार–तालिका तयार पारेका छौं। यसलाई पालना गर्ने हो भने केशको समस्या विस्तारै कम हुँदै जान्छ।
के खाने?
कपाल सुख्खा हुने, हाँगा पलाउने र झर्ने समस्याबाट बच्न प्रोटिन र बोसोयुक्त खानेकुरामा ध्यान दिनुपर्छ। दुध, माछा, मासु, अन्डा र गेडागुडीमा प्रोटिन पाइन्छ। बोसोयुक्त खानामा विशेषगरी ओमेगा थ्री फ्याट्टी एसिड भएका माछा, बदाम, सूर्यमुखी फूलको तेल खानु राम्रो हुन्छ। गाँजर, पालुङको साग, भेडेखुसार्नी आदिमा पाइने भिटामिन ए पनि सुन्दर कपालका लागि जरुरी छ।
भिटामिन सी र बी कम्प्लेक्सको कमीले कपालमा विभिन्न समस्या आउँछ। कागती, सुन्तला, मौसम, आँप र टमाटरजस्ता खानामा भिटामिन सी पाइन्छ। हरियो सागपात, ड्राइफ्रुट, भात, गहुँ, दुध, अन्डाजस्ता खानेकुराले भिटामिन बी कम्प्लेक्सको कमी हुन दिँदैन। आइरन, फोलिक एसिड, भिटामिन इ र जिंक पनि सुन्दर कपालका लागि नभई हुन्न। तोफु, पालुङको साग, फर्सीमा आइरन पाइन्छ। ब्रोकाउली, भुइँकटहरजस्ता खानाबाट फोलिक एसिड लिन सकिन्छ। नरिवल, बदाम, हरियो सागपात, मेवा खानाले भिटामिन ई को कमी हुँदैन।


खानाको तालिका

बिहान
ग्रिन टी वा कफी, ४ देखि ६ वटा रातभर भिजाइएको बदाम।

खाजा
पुवा, दही वा दुध वा अन्डाजस्ता प्रोटिनयुक्त खाना, आइरन भएका फलफूलजस्तै खरबुजा, मेवा आदि।

खानाअघि
गाँजर, लौकाजस्ता भेजिटेबल जुस वा नरिवल पानी। खानाअघि जुस पिउनाले पाचनशक्ति बढाउँछ। जुसमा पाइने भिटामिनले कपाललाई फाइदा गर्छ।

दिउँसोको खाना
दाल, भात, रोटी, हरियो सागपात, टमाटरको अचार, कुखराको मासु वा दही। नेपाली खाना सन्तुलित आहारमा पर्छ। यसमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ।

चिया
मौसमअनुसार फलफूलको जुस वा फलफूल, दुध र केही ड्राइफ्रुट्स। फलफूलले भिटामिनको कमी हुन दिँदैन। दुधमा प्रोटिनको मात्रा बढी हुन्छ।

साँझको खाना
रोटी र चिकन करी वा मटर पनिर। साँझ हल्का खानेहरूले चिकन सुप वा सागपात मिसाइएको तरकारीको झोल पिउन सक्छन्।
www.nagariknews.com

No comments

Powered by Blogger.